Saturday, 24th June, 2017
add-1495205669.JPG

थाहानगरमा ऐतिहासिक तीनवर्षे इन्द्रायणी मेला शुरु

मकवानपुरको थाहानगर स्थित इन्द्रायणी चौरमा तीनवर्षे मेला शुरु भएको छ । स्थानीय देउला र नेवार समुदायको ऐतिहासिक सम्बन्ध गाँसिएको किम्वदन्ती रहेको मेला २८ मंसीरबाट लगातार तीन दिनसम्म संचालन हुने छ । मेलाको पहिलो दिन इन्द्रायणीचौरमा रथ झार्ने, दोस्रो दिन मुख्य पुजा, तेस्रो दिन रथ उठाउने तान्त्रीक विधि सहितको पुजा हुने गर्दछ । 

मेला अवधिमा थाहा नगरपालिका वडा नम्बर २ का देउला समुदाय र वडा नम्बर ३ का नेवार समुदायले दिनरात नै पुजा गर्ने गर्दछन् । मन्दिरमा राती पञ्चबली सहितको पुजा हुने इन्द्रायणी भगवती कालाभैरब गुठी संरक्षण समितिका अध्यक्ष श्यामभक्त श्रेष्ठले बताए । तीन दिनसम्म लाग्ने जात्राको व्यवस्थापन समितिले गर्ने अध्यक्ष श्रेष्ठले बताए । 

के छ जात्राको किम्वदन्ती ?

परापूर्व कालमा पश्चिम एशिया अरब क्षेत्रमा देवता र दानवहरुबीच घोर घमासान महायुद्ध रणसंग्राम धेरै वर्ष चल्यो । युद्धमा कहिले देवताहरुको जित हुन्थ्यो, कहिले दानवहरुको जित हुन्थ्यो । यसरी यो महायुद्धको परम्परा चली नै रह्यो । युद्ध चल्दै आउँदै गर्दा अन्तिम समयमा देवताहरुको हार भयो । दानवहरुको जित भयो । त्यही समयमा देवताहरु पूर्वतर्फ भागेर आए । कयौं मारिए, कयौ घायल भए, कयौ दासदासी भए । यसरी देवता र दानवहरुको युद्ध युग समाप्त भएपछि दानवहरुको एक छत्र राज्य स्थापना भयो । पूर्ण तर्फ भागी आउने देवताहरु हिन्दुस्थान भित्र प्रवेश भएर आइसकेपछि बल्ल सुरक्षित भएको महशुस हुन थाल्यो । बाँचेकाहरु पुर्व एशियाका देशहरुमा स्थापना हुँदै आएका मध्ये श्री इन्द्रायणी माई यस ठाउँमा आइपुग्दा भर्खर १३/१४ वर्षको कलिलो बालिका जस्तो देखिन्थ्यो । पहेलो वर्ण, जिउडाल चटक्क मिलेको विस्तारै नरम बोली बोल्ने बालिका कसैले भगवान देवी भनेर चिन्न र पहिचान गर्न सकेन । 

यसैक्रममा विभिन्न शासनकाल पार गरेर गाउँ पञ्चायत, गाउँ विकास समिति हुँदै हालको थाहा नगरपालिका वडा नम्बर ३ पालुङ शहरको केन्द्र भागमा नेवार बस्तीमा आई त्यहाँका मानिसहरुसंग बास मागेछ । पालुङका मानिसहरुले उहाँँ बालिकाको रुप रंग र यौवनको अवस्था हेरेर बास दिन नहुने विचार गरेर भनेछन–‘तपाइ जस्तो यौवनले धपक्क बलेको सुन्दरी युवतीलाई हामी बास दिन सक्दिन ।’ कसैले भनेछन्–‘यहाँ केही समय बास दिदैमा के हुने हो र ? दिउँ बास ।’ यति भनेपछि बास दिने र बास दिन नहुनेहरुको मत नमिलेपछि सुन्दरी रुप श्रीदेवी अति क्रोध र अलि हँसिलो भावमा भनेछ–‘अब म पनि कुनै दिन तपाइहरुले धुमधामसंग मान्नुपर्ने भएर सिन्दुरयात्रा देखाउँदै आउनेछु ।’ अब म बास दिएता पनि बस्दिन भनी पालुङ शहरबाट उठेर हिँड्नु भएछ र पालुङबाट केही पूर्वतर्फ साविक पालुङ गाविस वडा नम्बर ३ हाल थाहा नगरपालिका वडा नम्बर २ देउला गाउँमा पुगेर त्यहाँ बास मागेछ । देउला गाउलेहरुले भनेछ–तपाइँ जस्तो सुन्दरी देवता जस्तो युवतीलाई बास दिदा तपाइलाई असजिलो लाग्न सक्छ । यहाँ जताततै फोहोरै फोहोर छ । सफा सुग्घर छैन । दुर्गन्ध नै दुर्गन्ध छ । हामी गरिबहरुको घरमा ओड्ने ओछ्याउने बस्तु केही छैन, के गरौ ? भनेपछि इन्द्रायणी माताले भनिछन्् –मलाई ओड्ने ओछ्याउने केही पनि चाहिँदैन । वेत या बाँसले बनाएको गुन्द्री मान्द्री भए पुग्छ भनेपछि एउटा घरको कुनामा बास दिएछ । र, त्यहीँ इन्द्रायणी बास बसेछ । (त्यही बास बसेको घर नै हालको द्योछेः हो ।

त्यहाँ बास बसेपछि देउलाहरुलाई हरेक रात एउटा देवी माता आएर गाउँलेहरुलाई रक्षा गरेको सपना देख्ने, पुजापाठ गरेको देख्ने, गाउँभरी नै धुपदीपको बास्ना फैलीरहने जस्तो अनौठो बाजागाजाको आवास आए जस्तो भान हुने देउलाहरुको मनमा पनि धेरै उत्सुकता र चन्चलता भइरहने जस्तो अचम्म लाग्न थाल्यो । कुनै बेला सुन्दरी बसेको ठाउँमा हेर्न गएमा सुन्दरी चिन्तीत मुद्रामा देख्ने, कहिलेकाँही आफ्नो पतिदेव इन्द्रदेवको सम्झना आई मरे बाँचेको केही थाहा नपाई आँखाबाट बलिन्द्रधारा आशु बगाइरहने, कहिले जवानी जस्तो देखिने, कहिले भर्खरको सानो बालक जस्तो देखिने, कहिले तेजिलो देखिने, कहिले आँखा चिम्लीएर ध्यान मुद्रामा देखिने । खाने पिउने केही वास्ता छैन । केही खाएको पिएको देखिदैन ।

यसरी कुनै बेला साता, दुईसाता र महिनासम्म पनि अलप हुने । एवं रीतले गायब हुने र उत्पन्न हुने परिपाटीले गर्दा देउलाहरुको मनमा सन्त्रासले घर गर्दै गयो । एक रात पूरै गाउँलेहरुलाई एकसाथ सुपना दिएछ । म देवताका राजा इन्द्रदेवको धर्मपत्नी हुँ । देवासुर संग्राममा देवता र दावहरुबीच घोर घमासान रणसंग्राम लडाई हुँदा सो लडाईमा देवताहरुले हार खाएको हुनाले त्यस रणसंग्रामबाट भागेर म यहाँ बास गरिरहेको छु । यहाँका भक्तजनहरु कोही आत्तिनू र त्रसित हुन पर्दैन । म यहाँ रहुन्जेलसम्म हरेक समयमा तपाइहरुको सुरक्षा हुनेछ । तपाईहरुको भलाइ हुनेछ । यो तपाइहरुको गाउँमा  तपाईहरुले मलाई बस्न दिएको हुनाले अब यो गाउँ मेरो माइतीगाउँ हुनेछ भनी सपना दिएको हुनाले त्यसै दिनदेखि नै गाउँलेहरुले आजापुजा गरी साक्षात् इन्द्रायणीमाई मानिराखे । 

यसरी समय बित्दै जाँदा दानवहरुको दूत जासुु पनि इन्द्रायणी कहाँ पुगेछ भनी खोजी निती गर्दै आउँदा इन्द्रायणी यहिँ देउला गाउँमा बसिरहेको थाहा पाई एउटा साधारण मनुष्यको रुपमा आई इन्द्य्रायणी समक्ष भनेछ–देवासुर संग्राममा इन्द्रदेव मारिएछ भन्ने खबर सुनाएर त्यही गाउाको पाखाको कुनामा लुकेर बसेछ । सोही दिनदेखी इन्द्रायणी अलाप विलाप गरी रुन लागे । यसरी इन्द्रायणी रोएको देउलागाउँलेहरुले देखेपछि देउलाहरुले सोधनी गरेछ । हे महामयीम इन्द्रायणी देवी किन, के कारणले परमेश्वरलाई रुन प¥यो । हामीबाट केही कमजोरी हुन गयो कि ? हामीबाट केही बिटुल हुन गएको भए क्षमा गरिदिनू होला । हे इश्वर, हे देवी माता, के कालिका देवी होइन भने हामीले के गर्नु प¥यो आज्ञा होस प्रभू । भनेर स्तुति प्रणाम गरेपछि इन्द्रायणीले भन्नुभयो । यहाँ गाउँलेहरुबाट केही कमी कमोरी भएको छैन । आज मलाई कुनै अपरिचित मानिस आएर मेरी पति इन्द्रदेव रणसंग्राममा मारिएको खबर सुनाएर गए । त्यसैले म साह्रै विलापमा परिरहेको छु । संसारमा देवता या मनुष्यहरुको पति परलोक भएमा पत्नी सतिबास जानुपर्ने परम्परा रहि आएकोले अब म पनि यस मत्र्यलोकमा रहनूहुन्न ।     मेरो पति इन्द्रदेवको धर्मपत्नीको नाताले सती जानू पर्छ । त्यसैले मेरा भक्तजनहरुले सती सामानहरु जोडाइदिनूहोला ।

भक्तजन देउलाहरुले गहभरी आँसु बगाएर भने–सति सामाग्रीहरु के के चिज हो भगवान ? इन्द्रायणी माताले भने धुप दिप, लाजा, सिन्दुर, फूल अक्षता नदीको किनारामा   दाउराको चाङ लगाई सोला बनाइदिनू प¥यो । देउलाहरु पनि अलाप बिलाप गरी रुन लागे । नचहाँदा नचाहँदै पनि  उहाँले भने बमोजिम सम्पूर्ण सामाग्री तयार गरिदिए । चिता तयार पारेको ठाउँ हाल इन्द्रायणी देवी स्थानको प्राङ्गण मसान लास पोल्ने ठाउँ ।
त्यसपछि देउलागाउँबाट इन्द्रायणी देवी र गाउँलेहरु गाउँ नै थर्किने गरी रोई, रोई तल नदितिर झरे र पश्चिमबाट बगिआएको पवित्र तिर्थ त्रिवेणीघाट र शंखमूल घाट भई बगिेर आएको नदी र उत्तरबाट बगेर आएको ल्हगाचा नदीको संगम स्थलमा पुगेपछि इन्द्रायणीदेवी माताले गंगाजीको दर्शन गरी पूरे कपाल फिँजाई लगाएको वस्त्र सहित त्यस घाटमा प्रवेश गरी नुहाई बाहिर आउनु भयो । त्यसै बेलादेखि इन्द्रायणी सतिजान नहुएको हुनाले सो घाटको नाम सतिघाट रहन गएको भन्ने पुराना बुढापाकाहरुको भनाइ छ ।

के के हुन्छ, जात्राको पहिलो दिन ?

तीनवर्षै जात्राको नियम तान्त्रिक–विधि विधान यस तीन वर्षे इन्द्रायणी माइको जात्रा ललितपुर पाटनबाट तान्त्रिक विशेषज्ञ कर्माचार्यहरु आएर नियम पूर्वक जात्रा संचालन गर्दछन् । जात्रा हुने चार दिन अगाडि मंसीर शुक्ल द्वितीयाको दिन देउला गाउँबाट खाली रथ पालुङ नेवार गाउँमा ल्याउँछन्, रथ गाउँ भित्र्याएपछि १६ द्वारको भोज र निमन्त्रणा पुर्जा शुरु हुन्छ । द्वितीयाको दिनदेखि पहिलो निम्तो पुजा भगवती पुजारीबाट हुन्छ । तृतीयाको दिन काला भैरब पुजारीबाट पुजा र भोज हुन्छ । चर्तुदशीका दिन इन्द्रायणी पुजारीबाट हुन्छ र १६ द्वार भोज खुवाउने कार्य समाप्त हुन्छ । १६ द्वारहरु तीन कवलमा विभाजन गरिएको छ । सो तीन कवलबाट तीनजना भण्डारेहरु राखिएको हुन्छ । जसको काम जात्रा भरी बली पुजा गर्ने कर्ताहरुलाई पकाई तुल्याई खुवाउने काम हुन्छ । देवी श्रृङ्गार इन्द्रायणी स्थानमा पाँच सल्लाको लिङ्गो ल्याएर चार सुरमा गाडिन्छ । चँदुवा टाँगिन्छ । एउटा मूल लिङ्गो रथ झर्ने दिन राती उठाइन्छ । लौठसल्ला, पानीफुल देउताको वरीपरी राखेर सिंगारिन्छ । (काठमो गुँदल कसिन्छ, देवल आकारको दियो बाल्ने झ्याल)

पूर्णिमाका दिन भगवती आँग घरमा सूची निची गरी तोर्मा पकायन्छ । गाउँको माझ खण्डमा नुहाईधुवाई गरी शुद्ध भएर गोजा (तोर्मा) पकाइन्छ । त्यसपछि इन्द्रायणी पुजारीबाट देउता लिन जाने पुजा ल्याउँछन् । र, गाउँले १६ द्वार बाजा गाजा बजाई देउला गाउँमा देउता लिन जान्छन्, तीन पुजारी ठकु जु जु, कर्मचार्य समेत जान्छन् । देउला गाउँमा पुगेपछि द्यो नाय, द्यो पा, गाउँ नाइके समेतले द्यो छेः (देउता घर) बाट उठाएर ल्याइन्छ र डबलीमा सजाएर राखिन्छ । र, राखीसकेपछि इनद्रायणी पुजारीले आफ्नो नित्यकर्म गरी पुजा गरिसकेपछि देउता नाइके, देउता पाले, गाउँ नाइके समेतले देउता उठाएर ल्याउँछन् र सो देवी देवता गाउँमा पु¥याएपछि आ–आफ्नो रथमा विराजमान गराइन्छ । त्यसपछि सर्व प्रथम ठकु जु जु को पुजा हुन्छ । ठकु जु जु को पुजा पछि अरु गाउँलेहरुको र १६ द्वारको पुजा हुन्छ । सबै गाउँलेको पुजा सकिएपछि आँग घरमा भगवती पुजारीले पकाएको १२ जोर तोर्मा बाजागाजा सहित इन्द्रायणी स्थानमा १२ पटक गरी चढाउन लान्छ । सो १२ जोर पुजा सकिएपछि अब कुमारी गोजा (तोर्मा) एक पाथी चामलको भात पकाई कुमारी गोजा (कुमारी तोर्मा) बनाउँछ । कुमारी मुर्ति कालो भटमासबाट आँखा, सिन्दुर  केशरीबाट नाक, कान सहित चर्तुमुखी तोर्मा बनाउने, गाईको घिउबाट तोर्मामा दल्ने । सो कार्य सम्पन्न भईसकेपछि ठकु जु जुले संकल्प पुजा ल्याएर कर्माचार्यले  तान्त्रिक विधि पढेर ठकु जु जु ले संकल्प गर्छ, संकल्प कार्यपछि अब रथ उठउने पुजा ठकु जु जु बाट ल्याउँछ त्यसपछि इन्द्रायणी पुजारीले दुई रागो, दुई बोका, भाले, परेवा, हाँस समेत पञ्चबली पुजा कार्य स्थलमा ल्याउँछ ।

यसरी क्रमशः भगवती, कालाभैरब पुजारीले पनि बली सहित पुजा ल्याउँछ । त्यसपछि १६ द्वार र गाउँले सबैको पुजा जम्मा भईसकेपछि सर्व प्रथम द्यो नायले पाता उठाएर टाउकोमा राख्छ, त्यसपछि कुमारी गोजा (तोर्मा) उठाउँछ । त्यसपछि आगँ उठाउँछ । यि सबै उठाइसकेपछि गणेशको रथ उठाउँछ । क्रमशः कुमारी, इन्द्रायणी, भैरबको रथ उठाउँछ ।  र, श्री गणेशकी जय, श्री बालकुमारी की जय, श्री इन्द्रायणी की जय, श्री भैरवकी जय यसरी जय जयकार मनाई अष्टभैरब परिक्रमा गरी बाजागाजा सहित रथ देवी स्थानमा लगिन्छ । देवी स्थानमा लगेपछि द्यो नाय, द्यो पा, गाउँ नायो समेतले रथबाट देवीहरु निकालेर आफ्ना् आफ्नो स्थानमा विराज गरिन्छ । त्यसपछि एक माना अक्षताको भात पकाउँछ । भात पाकीसकेपछि तोर्मा बनाउँछ, सो तोर्मामा कर्माचार्यले तान्त्रीक विधिबाट अब इन्द्रायणी माइले निमन्त्रणा गरे जति ३३ कोटी देवताहरु जात्रा स्थलमा आइसकेको हुनाले अब देखि भुतप्रेत, राक्षस, डंकिनी कुनैले पनि बाधा विरोध गर्न आउन पाउँदैन भनी तोर्मामा भालेको बली चढाई पुजा सकेपछि तोर्मा (गोजा) चारै दिशामा लगि पुजा गरिन्छ । सो गोजाले चढाएको बाटो बन्द गरिएको मानिन्छ । सो बाटो बन्द गर्ने कार्य सकिएपछि अब पुजा शुरु हुन्छ । सर्व प्रथम ठकु जु जुको पुजा बली आचार्यबाट संकल्प गरी पुजा गर्छ । त्यसपछि भगवतीको बली पुजा गरिन्छ । त्यसरी नै काला भैरब पछि इन्द्रायणी पुजारीको पञ्चबली पुजा हुन्छ । त्यसपछि १६ द्वारहरुको पुजा हुन्छ । १६ द्वारको पुजा सकिएपछि गाउँलेहरुको पुजा हुन्छ । १६ द्वारहरुको बोकाको टाउको देवी स्थानमै राखीन्छ ।र, गाउँलेहरुको पुजा सकिएपछि पहिलो दिनको जात्रा समाप्त हुन्छ ।

-ऐतिहाँसिक दस्तावेजहरुबाट संकलित

 




matadan-1490708286.PNG
add-1495205951.PNG
loading...
Reg.-1495550477.jpg


ताजा समाचार

रुदानेः जनताले सम्झिरहने जनप्रतिनिधि
थाहा नगरपालिकामा समेटिएको दामन अर्थात तत्कालीन शिखरकोट गाउँ पञ्चायतमा रूपचन्द्र विष्ट प्रधानपञ्च थिए । २०२२ सालमा उनले प्रधानपञ्च जित्दा कार्यालय...
Untitled-1-1498195845.jpg
स्थानीय तहलाई भूकम्पपीडितको गुनासो व्यवस्थापन गर्ने अधिकार प्रत्यायोजन
स्थानीय तहलाई पुनर्निर्माणसम्बन्धी गुनासो व्यवस्थापन गर्ने अधिकार प्रत्योजन भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नयाँ संरचना गठन भएसंँगै...
images-1498141198.jpg
अनुमति नलिई संचालन गरिएको मेडिकल
हेटौंडामा अनुमति नलिई संचालन गरिएको रामजानकी मेडिकल हल र उपकार मेडिकल हलको क्लिनिकमा सिलबन्दी गरिएको छ । अनुमति बिना नै क्लिनिक संचालन गरेको भन्दै...
रुदाने-‘विद्रोहको नेपाली नाम’ को फष्ट लुक सार्वजनिक
दार्शनिक तथा राजनीतिज्ञ रुपचन्द्र विष्ट सम्बन्धी चार वर्षसम्म गहिरो अध्ययन अनुसन्धान गरि निर्माण थालिएको रुदाने ‘विद्रोहको नेपाली नाम’ को फष्ट लुक...
rudanesss-1498063337.jpg
रुपचन्द्र विष्टको सम्झनामा छलफल र माल्यार्पण कार्यक्रम
थाहा आन्दोलनका प्रणेता स्वर्गिय रुपचन्द्र विष्टको १८ औ स्मृति दिवसको अवसरमा उनको जन्मथलो दामनमा कार्यक्रम गरिएको छ । मकवानपुरको थाहा नगरपालिका...
Rudane-Shalik-1498060329.jpg

लोकप्रिय समाचार

थाहाकाे मेयर, काे हुन लवशेर विष्ट ?
मकवानपुर जिल्ला थाहा नगरपालिकामा प्रमुख पदमा विजयी नेकपा माओवादी केन्द्रका लवशेर बिष्टले आफ्नो पदभार ग्रहण गर्नु भएको छ । पदभार सँगै आफ्नो मनले...
थाहा नगर कार्यपालिकाको निर्णय:  स्व. रुपचन्द्र विष्टको सम्मान कि अपमान ?
स्थानीय तहको निर्वाचन २०७४ मा निर्वा्चित भएपछि थाहा नगरपालिकाको कार्यपालिकालाई अन्य नगरपालिकाहरुको बारेमा समाचारहरुमा आएजस्तै केही नयाँ वा...
कुलेखानीकी बालिका हराइन, खोजिदिन आग्रह
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ कुलेखानी सुकौरा गाउँकी सगिता घिसिङ २५ जेठदेखि हराएकी भएकी छिन् । सानीआमाको घरमा बस्दै आएकी १४ वर्षिया...
यस्तो छ थाहाका जनप्रतिनीधिको पहिलो निर्णय
थाहा नगरपालिका नगर कार्यापालिकाको पहिलो बैठकले फोहोर व्यवस्थापनदेखि निःशुल्क ल्याब (प्रयोगशाला) सुविधा दिनेसम्मको निर्णय गरेको छ ।  विभिन्न...
थाहानगर कार्यपालिकामा माओवादी काँग्रेस गठबन्धनको वर्चश्व (हेर्नुहोस मत परिणाम सहित)
स्थानीय तह निर्वाचन अन्तर्गत मकवानपुरको थाहा नगरपालिकामा नगर कार्यपालिकाका लागि आठ सदस्य निर्वाचित भएकाछन् ।१८ जेठमा भएको निर्वाचनबाट पाँच महिला...