Saturday, 19th January, 2019
वि.स.
Bihuli-002-1532968337.gif

आनिबानी, ब्यवहार, संरचनाको विकास नै बालमैत्री: महर्जन

Child-1528197269.jpg

मकवानपुरकै उत्तरी क्षेत्रको ईन्द्रसरोवर गाउँपालिकाको वडा नं ४ र ५ लाई यहि जेठ २९ गते बिश्व बालश्रम बिरुद्ध दिवसको अवसर पारेर बालमैत्री वडा घोषणा गर्ने कार्यक्रम रहेको छ । बि.स. २०६३ सालदेखि नै साबिक फाखेल गा.बि.सले फाखेल गा.बि.स.लाई बालमैत्री घोषणा गने प्रयासमा रहे पनि हाल ईन्द्रसरोवर गाउँपालिका भैसक्दा गाउँपालिकाको ५ वटा वडाहरु मध्ये दुईवटा वडाहरु ४ र ५ लाई बालमैत्री वडा घोषणा गर्न लागिएको हो । गाउँपालिकाको योजनाको आधारमा ४ वर्ष भित्रमा गाउँपालिकालाई नै बालमैत्री गाउँपालिका घोषना गर्ने बताइएको छ । बालमैत्री वडा घोषणाको समय नजिकिँदै गर्दा ईन्द्रसरोवर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष धनराज महर्जनसंग विकासखबर डटकम संवाददाता मञ्जरी बलामीले लिएको अन्तरवार्ता :

  • बालमैत्री वडा घोषणा हुन लागिरहेको छ, यसमा त तपाईको संघर्ष र घोषणा पश्चातको उपलब्धि के हुन सक्छ ?

बालमैत्री घोषणा जुन गर्दैछौँ, त्यो बालबाललिकाको बालबालिका मैत्री खालको एउटा संरचना निर्माण देखि ब्यवहारमा परिवर्तन गर्ने एउटा अभियान हो । यो अभियानमा हामी यो घोषणा गर्दै गर्दापनि प्रत्येक घरघरमा यो अभियानले एउटा सन्देश पुग्छ र त्यसपछि यसलाई निरन्तरता दिनको लागि आफुले आफ्नो आनिबानीमा गर्नुपर्ने परिवर्तन, अभिभावकको तर्फबाट, समुदायको जिम्मेवारी लगायत बिद्यालय, संघसंस्थाहरुले निर्वाह गर्नुपर्ने जिम्मेवारी र भुमिकामा पनि यसले अझ कर्तब्य बोध गराउँछ । र यसलाई राज्यका अंगहरुले पनि बालमैत्री खालको ब्यवहार देखाउन र त्यसको लागि आवश्यक पर्ने पुर्वाधार निर्माण देखि सबै कुरा गर्न उहाँहरुलाई अझ जिम्मेवार बनाउछ र हामी आफ्नो ठाउँबाट सक्ने पहल गछौँ र उहाँहरुले पनि त्यसमा साथमा साथ दिँदाखेरी बालबालिकाले पाउनु पर्ने न्युनतम बालमैत्रीका जुन सूचकहरु छन ती पाउनलाई भबिष्यमा त्यसले सार्थकता पाउँछ भन्ने नै हिसाबले अहिले हामी लागिपरेको हो । त्येसो हुँदा भोलीको दिनमा १/२ वटा सूचकहरु भने १०० प्रतिशत पुर्याउन त सकेका छैनौँ, त्यसलाई १०० प्रतिशत पुर्याउनको लागि हामीले कार्ययोजनाहरु बनाएका छौँ, त्यसरी अघि बढ्दा ती सूचकहरुलाई १०० प्रतिशत पुर्याएर निरन्तरता दिइ राख्न सक्छौँ भन्ने हाम्रो कार्यक्रको लक्ष्य उदेश्य पनि हो ।

  • घोषणा गर्छु भनेर जतिपनी मेहनत गर्नुभयो, बालमैत्री अभियान सुरुभएको समय र अहिले समाज भएको परिवर्तन भने के के हुन सक्छ ?

बि.स.२०६३ सालमा हाम्रोमा ७ वटा गाउँ बिकास समिति र एउटा नगरपालिकालाई बालमैत्री बनाउने भनेर अभियानको रुपमा सुरुवात भयो, केही समय त यो अभियान बुझ्न नै गाह्रो भयो र बुझ्न नै समय लाग्यो । यसलाई निरन्तर कार्यक्रमको रुपमा कस्ले कार्यान्वयन गर्ने भन्ने खालको कुरामा हिजोको दिनमा जनप्रतिनिधि पनि नहँुदा र गाबिसमा भएका जनशक्ति तथा सचिब नै यसको जिम्मेवार हुने र यसलाई अन्यले साथ नदिएको र समुदायलाई पनि यसको बिषयमा बुझाउन नसकिएकोले यो अलिकति ढिलासुस्ती पनि भयो । तर पनि यसलाई प्लान नेपालको सहयोग र साथमा केही कार्यक्रमहरु भैरहँदा हामीले बनाउने संरचनाहरुमा धाराहरु, सिढीँहरु, फर्निचरहरु, शौचालयको संख्या, छात्रछात्राको छुट्टाछुट्टै शौचालयको कुरा, बाल सहभागिता, बालक्लबहरुको गठन, वडास्तर मै बाल सञ्जाल गठन, गाउँपालिका तहमा पनि बाल संजाल गठन भएको अवस्था छ । यसले के देखिन्छ भने बाल सहभागिताको कुरा देखि संरक्षणका कुरामा हिजोको तुलनामा बालबालिकाको बिषयमा घटना दर्ताको कार्यहरु भएका छन, यस्ता कुरामा केही प्रगती भएको देखिन्छ । यदि बालमैत्री अभियान नभएको भए यो बिषयहरुलाई बिशेष जोडका साथ अघि बढाईदैँन थ्यो तर यो अभियानले गर्दा भने अभियान नै लक्ष्यको रुपमा छ, अब यसलाई पुरा गर्नका लागि लागिपर्नु पर्छ भन्ने हिसाबले लाग्दाखेरी बालबालिकाको बचाउ, संरक्षण, बिकास र सहभागिताका कुराहरुमा उल्लेख्य प्रगती भएको छ ।

  • बालमैत्री बास्तवमै बालबालिकाले अनुभूती गरेका छन की छैनन् ? ठुला ब्यक्तिले मात्रै बालमैत्रीको अनुभूती गरेको हो ?

बालबालिकाले आफैले पनि महसुस गर्ने भनेको घटना दर्ता लगायत यावत कुरामा बालबालिकालाई त्यती चासो हुदैन र खासै अनुभव पनि नगरेको हुनसक्छ । तर उनीहरुले अनुभव गर्न सक्ने खालका कुराहरु भनेको चै कम्तीमा बिद्यालय वा समुदाय स्तरमा बालक्लब स्थापना हुने, उनीहरुले बालक्लब मार्फत आफ्ना कुराहरु र आवश्यकताका बिषयमा छलफल गर्ने, अतिरिक्त क्रियाकलापहरु आफैले आयोजना गर्ने वा कार्यक्रम गरेको ठाउँमा सहभागिता जनाउने, बालक्लबहरुमा सचिब, अध्यक्ष लगायतका पदहरुमा रहँदा बालबालिका आफैमा पनि नेतृत्व गर्न सक्ने क्षमतामा बिकास पनि बालबालिकाले बालमैत्रीको प्रत्यक्षरुपमा अनुभूती गरेका छन् । साथै बिद्यालय ब्यवस्थापन समितिमा सक्रिय सहभागिता र निर्णायक कुरा राख्न नसकेपनि के के कुरा हुन्छ भन्ने जान्ने खालको वातावरण बनाउन सकेको छ, तथापी बालबालिकाका आवश्यकताको कुराहरु नै निर्णायकको रुपमा बालबालिकाले राख्न सकेको त छैन तर सहभागिताको लागि प्रणालीको बिकास भने भएको छ, त्यो एउटा सकारात्मक कुरा हो तर त्यतीले मात्र पुग्दैन, तिनीहरुको कुराहरुलाई छलफलको बिषय बनाएर निर्णायकको रुपमा समितिमा आउन सक्ने प्रणालीको बिकास हुनुपर्छ ।

  • बालमैत्रीको बिबिध कुराहरु भैरहँदा यो संबेदनशिलताको रुपमा अपाङ्गमैत्री वातावरणको लागि कत्तिको ध्यान दिनुभएको छ ?

अब बन्दै गएका संरचनाहरुमा अपाङ्गमैत्री हुनुपर्छ भन्ने हो, बालबालिकाको बालमैत्री भनिरहँदा यहाँ सबैखालका मैत्रीका कुराहरु छन, छात्रछात्रा मैत्रीका कुरा, फरक क्षमता भएका ब्यक्तिहरुका लागि पनि आफ्नो पहुँच पुर्याउन सक्ने वातावरण हुनुपर्यो, लगायतमा केही कुरामा हामीले सुधार गर्नुपर्ने छ । तर बिगतमा भएका संरचनाहरु अपाङ्गमैत्री खालको छैन र पछिल्लो समयमा बनेका संरचनाहरुमा भने बिद्यालयहरुमा र्याम्पहरु राख्ने कामहरु भएको छ तर यो पर्याप्त र सहज खालको भने छैन र यसो हेर्दा यो देखावती जस्तो मात्र भएको छ । अपाङ्ग बालबालिकाको लागि सहज खालको वातावरण, अफिस कोठा, कक्षा कोठा देखि शौचालय सम्मको सहज आवतजावत गर्न सक्ने संरचना बनिसेको चाइ छैन । यो बिषयलाई अभियान संगसंगै हामीले कतिपय बिषयहरुमा सुधार गर्नुपर्ने देखिन्छ त्यो बिषयहरुलाई सुधार गर्दै घोषणा पश्चात पनि निरन्तरता दिने छौँ ।

  • निरन्तरको जुन तपाईँहरुको अभियान रह्यो र अब घोषणाको मिति पनि नजिकिदै छ, यो अवस्था सम्म आइपुग्नको लागि मुख्य भुमिका कस्को रहेको छ, भन्ने मुल्याङ्कन गर्नुभएको छ ?

यो अवस्था सम्म आइपुग्नको लागि सुरुमा त नेपाल सरकारले बालमैत्री अवधारणालाई आत्मसात गर्दै हाम्रो ७ वटा गाउँबिकास समिति र एउटा नगरलाई अगाडी बढाउने क्रममा हाम्रो ठाउँपनि छनौट भयो । त्यसलाई फेरी कार्यान्वयनमा लानको लागि भन्ने हो भने फिल्ड लेबलमा केन्द्रिय बाल कल्याण समिति र जिल्ला बाल कल्याण समितिले पनि केही भुमिका त खेल्यो तर त्यसको लागि स्रोत साधन, जनशक्ति देखि परिचालन सम्ममा सहयोग गर्ने भनेको हामीलाई प्लान नेपाल मकवानपुर कार्यक्रम र त्यसमा पनि हाम्रो प्लान मार्फत गा.बि.स. फाखेलमा कार्यरत कर्मचारीहरुको ठुलो भुमिका रहेको छ । अहिले सम्म आउँदा पनि उहाँहरुले बि.स. २०६३ साल देखि अहिले २०७५ सालमा आउँदा सम्म पनि यो घोषणा कार्यक्रमलाई पनि प्रत्यक्ष रुपमा आफै संलग्न रहि सरसल्लाह, आर्थिक सहयोग देखि समुदायलाई घच्घच्याउने सम्मको काममा सक्रिय भै सहयोग गर्नुभएको छ । संघसस्थाको हिसाबले प्लान नेपालले सहयोग गरेको छ भने यो अभियानलाई सार्थकता दिन र अगाडी बढाउन ईन्द्रसरोवर गाउँपालिकाको पहिलो कार्यपालिकाको बैठकले नै यो गाउँपालिकालाई ३ बर्ष भित्रमा बालमैत्री गाउँपालिका बनाउने भनेर निर्णय गरेको छ भने गाउँपालिकाको पछिल्लो बैठकले साबिक फाखेलको २ वटा वडालाई यो आर्थिक बर्षभित्र बालमैत्री वडा घोषणा गर्नको लागि भनेर स्रोत साधन र नीतिगत ब्यवस्था चाई गाउँपालिकाले गरिदिएको छ । भने हामी यो अहिलेको २ वटा वडाका बासिन्दाहरु बाल संरक्षण समिति र स्थानिय बालमैत्री शासन समितिमा छौँ, बिद्यालय र सहकारीहरु पनि यसको सहयोगीको रुपमा रहेको छ । पछिल्लो समय यसलाई कार्यान्वयनमा लानुपर्छ भनेर हामी पनि यसका भागिदार हौँ, सहयोगी भएर जान सक्छौँ र जान्छौ भन्ने खालको प्रतिबद्धताका साथमा सहयोग पाएका छौँ । बिशेषगरी बिद्यालयले यसलाई राम्रो संग सहयोग गरको अवस्था छ ।

  • बालमैत्रीको कुरामा बालबालिकाले अनुभुती गर्ने गरी बिद्यालयले बालबालिका प्रति गर्ने ब्यवहारमा के परिवर्तन छ ? र महिनावारीको बिषयलाई बिद्यालयमा सुरक्षित बनाउन के गर्नुभएको छ ?

यो बिषय उठान भएको छ । तर बिद्यालयमा छात्रामैत्री शौचालय जुन बन्नुपर्ने थ्यो त्यो हुन सकेको छैन । अहिले के चाहि भएको छ भने छात्रा मैत्री शौचालयको बिषयलाई बिगतमा खासै महत्वका साथ हेरिदैन थ्यो तर अहिले छात्रामैत्री शौचालय नहुँदा स्कुल छोड्ने देखि लिएर यावत कुराहरुमा जुन समस्या हुन्छ भन्ने कुरामा महसुस भएको र गरेको छ । यो बिषयलाई अवका योजनाहरुमा जहाँ छन त्यसलाई ब्यवस्थित बनाउने र नभएको ठाउँमा निर्माण गरेर यथासक्य छिटो ब्यवस्था गर्नुपर्छ भन्नेखालको कुराहरु छ । एउटा छुट्टै कोठा बनाएर ब्यवस्था गर्न सकेको छैन तर प्याडहरुको ब्यवस्था गर्ने र पानीहरुको ब्यवस्था गर्न सक्ने कुरामा भने ब्यवस्था गरेका छौँ अब यसलाई ब्यवस्थित बनाउने खालको संरचनाहरु निर्माण भने गर्न सकेका छैनौ । बिद्यालय समयमा जुन प्याडहरु छ, त्यसलाई उचित किसिमले डिस्पोज गर्ने ब्यवस्थाहरु पनि गरेर जानु पर्ने छ भन्ने एउटा महत्वका साथ हेरिएको भने छ ।

  • बालमैत्री वडा भैसकेपछि कस्तो छ त बालमैत्री वडा भन्ने चासोका साथ बाहिरी जिल्ला तथा गाउँबाट भ्रमणहरु आउन सक्ने सम्भावना प्रबल रहन्छ, यो अवस्थामा भ्रमणको लागि आउने मानिसहरुले सिक्ने र देख्ने कुरामा अन्य ठाउँको तुलनामा के फरक पाउँछन त ?

यो बिषय बास्तबिक हो । हामीले बालमैत्री घोषणा गर्दै गर्दा भएका कुरालाई प्रस्तुत गर्न र नभएका कुर तथा पुरा नभएका सूचकहरुलाई हामीले अलिकती सुधार गर्नुपर्ने हुन्छ । त्यसले हामीलाई निश्चय नै छिटोभन्दा छिटो यस्लाई पुरा गर्न सघाउ पुर्याउछ । घोषणाको लागि न्यनतम प्रतिशत पुरा भएको तर शतप्रतिशत पुरा नभएका सूचकहरुलाई हामीले शतप्रतिश पुर्याउनु पर्ने हुन्छ भने वडामा सम्पन्न भएका कुराहरु जस्तै सुरक्षित मातृत्व, पुर्णखोप, बालबालिकाको जन्मदेखि उमेर समुहसम्म पढ्नपाउने सुनिश्चित भएको कुरा देखाउनु पर्ने हुन्छ । त्यसमा यहाँका बलबालिकाहरुले सम्पुर्ण खोप लगाएको देखि स्कुल भर्ना लगायतका कुरामा हाम्रोमा सुधार छ है, हामी चाहीँ शतप्रतिशत छौँ भनेर जानका लागि हाम्रा ति तथ्याङ्कहरु र स्कुल भर्ना तथ्याङ्कले हामीलाई सपोर्ट गर्छ । भने यहाँ हाम्रो बालक्लबहरु गठन भएका छन, बालक्लबहरुको बैठकहरु हुन्छ, बालबालिकालाई संस्थागत छलफल र संरचनामा सहभागिता गराउने लगायतका प्रणालीको बिकास हामीले गर्न सुरु गरेका छौँ । बिद्यालय ब्यवस्थापन समितिमा बालबालिकाको प्रतिनिधित्व गराउने भन्ने कुरामा हामीले ल बालबालिका बठाइदेउ मात्र भनेका छैनौँ, अब चाइ के गरेका छौँ भने हाम्रो कागजी प्रक्रियामा के छ भने स्कुल ब्यवस्थापन समितिले बालक्लबलाई अनुरोध पत्र लेख्ने र बालक्लबले पनि निर्णय सहित प्रतिनिधिको नाम पठाउने प्रक्रिया भएको छ र यो स्वास्थ्य समितिमा पनि गराउछौँ । यो हाम्रो सहभागिता मात्र होइन, यो चाई प्रणालीको पनि ब्यवस्थापन गर्न खोजिएको हो, प्रणाली बनाउन खोजेका हौँ । प्रणालीको रुपमा यसलाई बिकास गर्न खोजिएको हो, यसलाई पनि हामीले देखाउन सक्छौँ र देखाउन सक्ने गरि डकुमेन्ट बनाएका छौँ । अर्काे जति बनेका संरचनाहरु बालमैत्री छन, अहिले बनेका हाम्रा बिद्यालय भवनका कोठाहरु एकजना बिद्यार्थी बराबर कति स्थान चाहिन्छ त अथवा कति स्क्वायर मिटर चाहिन्छ भन्ने खालको मापदण्डको आधारमा पनि बन्दै अघि बढिरहेको छ, यो हाम्रो देखाउने कुरा भए । होला हाम्रो केही बिद्यालयहरु अस्थाइ सिकाइ केन्द्रमा पनि अध्यापन गराइरहन परेको हुनाले केही अप्थ्यारा छन तर हामीले त्यो कुराहरुलाई अबको केही समयमा र बनिरहेको समयमा बालमैत्री हुनेखालको संरचनाहरु बन्दैछ ।

  • सरसफाइको आनीबानीको कुरामा कत्तिको ध्यान दिनुभएको छ ?

सरसफाइको सन्दर्भमा हाम्रोमा पानीको सहज आपुती छैन । भुकम्प अघि हामी यो सूचकमा केही अगाडी थ्यौ तर भुकम्प पश्चात पानीको मुहानहरु सुक्नाले पानी नपुगेको कारण सरसफाइको सूचक केही पछाडी परेको छ । अहिले पछिलो समय सबैको घरधुरीमा स्वच्छ पानी पुग्नु पर्ने भन्ने सबैको एउटा माग छ, त्यसलाई हामी ब्यवस्थापन गर्न सकेको छैनौँ । पानी नपुगेको कारणले गर्दा सरसफाई संग सम्बन्धित सूचकमा हामी अलिकती पछाडी परेका छौँ । र त्यो पछाडी भएकोलाई पुरा गर्न हामी एउटा गाउँपालिका तहबाट लगानी योजना बनाएका छौँ, त्यो लगानी योजनाले निश्चित समयभित्र ती सूचकहरु पुरा गर्ने गरि हामीले काम गर्न सक्छौँ ।

  • अब आउने गाउँपालिकाको बजेट बालमैत्री केन्द्रित हुन्छ की ? हुँदैन?

बालमैत्री हुनकोलागि बालमैत्री ब्यवहारहरु बनाउनको लागि भनेर गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकामा आउने बजेटको १० प्रतिशत बजेट बालबालिकाको क्षेत्रमा छुट्याउने भनेर निर्णय गरेको छ । त्यसले पनि बालबालिकाको क्षेत्रमा कति मन लाग्छ त्याती छुत्याउने भन्ने हुदैन, त्यो हाम्रो निर्णय नै गरिसकेकोले एउटा नीनि बनिसकेको छ । त्यसलाई गाउँसभामा लगेर अनुमोदन गराउदै आउने ०७५/०७६मा त्यसलाई कार्यक्रमको रुपमा नै अगाडी बढाउने छौँ । हामीले संरचनाका कुराहरु जोड्ने हो भने बालबालिका संग जोडिने संरचनाका कुराहरु त्यो बजेट भित्र जोडेर गयो भने पुग्दैन । त्यसकारण संरचनाहरुको हकमा अझ त्यो भन्दा बढी समेटिएर जानु पर्छ, भन्ने खालका कुराहरु अहिलेको योजना बनाएका छौँ । त्यसै गरि बालकोष स्थापनाको बिषयलाई पनि प्राथमिकताको रुपमा हेरेका छौँ । बालबालिकाहरु कुनैपनि अप्थ्यारोमा पर्याे भने कहाँबाट बजेट ल्याउने भन्ने हुन्सक्छ भन्ने हिसाबले हामीले गाउँपालिकाको फण्डमा वडा तहमा नै बालकोष स्थापना गरी त्यो कोषबाट तुरुन्त उद्धार गर्न सकियोस भनेर योजना बनाएका छौ । अंकमा नै तोकिएको भने छैन तर बालकोष सञ्चालन र ब्यवस्थापनको बिषयमा निती बनाएर जाने छौँ ।

  • बालमैत्री वडा भनिरहँदा बिद्यालय नगएर घरमै बसेका बालबालिकाको संख्या कति छ भनेर तथ्याङ्क राख्नु भएको छ ?

त्यो हामीले बालबालिका सबै स्कुलमा छन है, बिशेष गरी ५ बर्षदेखि १८ बर्षकाहरु बिद्यालयमा छन भन्नेखालको एउटा घोषणा गर्यौ । यति गर्दागर्दै पनि छिटफुट रुपमा एकदुईजना बिद्यालय बाहिर भेटिएको अवस्था भने रह्यो फेरी । यस्तो पाइएपछि ति बालबालिकाहरुलाई बिद्यालय पठाउनु पर्छ भन्ने बिषयमा अभिभावकसंग बिद्यालय र बिद्यालय संग सरोकार राख्ने पक्षहरु जोडिनु पर्छ भनेर नीतिगत रुपमा छलफलहरु गरेर अघि बढिरहेका छौँ । त्यसो हुँदा आआफ्नो सेवा क्षेत्र भित्रका अभिभावक र बालबालिकालाई कन्भेन्स गराउनु पर्छ भनेका छौँ । त्यसरी पनि आउनु भएन भने नीतिगतरुपमा वडा तहबाट लिने सेवासुबिधा समेत आकस्मिक सेवा बाहेकको अन्य सबै सामान्य सेवाबाट बञ्चित गराएर भए पनि भर्ना बढाउने छौ । हिजोको शैलीले मात्र होइन पढाउने शैली पनि परिवर्तन गर्नुपर्छ भनेर बिद्यालयमा कम्प्युटर क्लास र कम्प्युटर ल्याबको ब्यवस्थापनमा नजिकिएका छौ ।

  • अन्त्यमा बालमैत्रीको अभियानमा बालक्लब र बालबालिकाहरुको उत्साह र लगनशीलता कस्तो पाउनुभएको छ ?

यो बिषयलाई बालक्लबमा रहेका बालबालिकाहरुले सकारात्मक रुपमा लिएका छन । किनभने बालमैत्रीको कुरागररहँदा हिजो केही कुराहरु बिद्यालयका ब्यवस्थापन समिति वा शिक्षकहरुले कुनै कार्यक्रमहरु गरौँ भन्दाखेरि मन लागे गर्ने, नलागे नगर्ने प्रबित्ति थियो भने अहिले बालबालिकाहरु आफैले आफ्नै सक्रियतमा आफैले निर्णय गरिकन ती कार्यक्रमहरु आफैले ब्यवस्थापन गर्ने र स्कुलले चाइ सहयोगी भुसमका खेल्ने, त्येसो हुँदा सहभागी हुने र कार्यक्रम नै सम्पन्न गर्ने सन्दर्भमा बालबालिकाहरुले अनुभक गर्ने सकारात्मक पाटो भएको छ । र प्रबिधिमैत्री हिसाबले बालबालिकाले सिकाइका कुराहरु सिकेका छन र भयरहित वातावरणमा सिकाइ हुन्छ । यी कुराहरुमा बालबालिकाले आफुलाई लागेका अप्थ्याराहरु सोध्न र भन्नका लागि हिजोको दिनमा जस्तो त्रासमा बस्नु पर्दैन, खुलेर भन्न सक्छन । यस अर्थमा पनि बालबालिकाहरु यो बिषयमा सकारात्मक भएको पाइयो ।

  • यो समयसम्मको कुराकानीका लागि यहाँलाई धन्यबाद ।
http://bikaskhabar.com/public/images/users/44-1521117090.jpg

मञ्जरी बलामी

[email protected]

बलामी, विकासखबर डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेकी छिन् ।







Plant-1526723778.JPG