Tuesday, 23rd April, 2019
वि.स.
Bihuli-002-1532968337.gif

कम्युनिष्टको बिकल्प काँग्रेस हुन सक्दैनः अध्यक्ष थापा

Kamal-Thaha-1548088861.jpg

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कम्युनिष्टको एजेण्डा बोकेर हिँडेको काँग्रेस पार्टी कम्युनिष्टको बैकल्पिक शक्तिको रुपमा स्थापित हुन नसक्ने बताएका छन् ।

हेटौँडामा राष्ट्रिय हिन्दु जागरण अभियान सुरु गर्दै थापाले विदेशीले कम्युनिष्ट पार्टीमार्फत थोपरेको संघीयता, धर्म निरपेक्षता लगायतका बिषयमा काँग्रेसले पनि कम्युनिष्टहरुसँग स्वर मिसाएको आरोप लगाए । ‘उस्तै एजेण्डा भएका काँग्रेस र कम्युनिष्टबाट देशले गति प्राप्त गर्न सक्दैन’, पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले भने–‘अब काँग्रेस र कम्युनिष्टको विकल्पको रुपमा राष्ट्रिय प्रजातन्त्र स्थापित हुनेछ ।’

थापाले बर्तमान सरकार असफल हुँदै गएको आरोप लगाएका छन् । विदेशमा नेपाली धन सञ्चित गरिएको विषय, निर्मला पन्त हत्या प्रकरण, ३३ किलो सुन तस्करी काण्ड लगायतका बिषयमा सरकारले काम गर्न नसकेको थापाको आरोप थियो । कम्युनिष्टहरुले चलाएको सरकार पनि जनताले देखेको भन्दै बिगतमा काँग्रेसको सरकार लामो समय हेरिसकेकाले अब राष्ट्रिय प्रजातन्त्र पार्टी मात्रै बैकल्पिक शक्तिको रुपमा अघि बढेको उनको दाबी थियो ।

पार्टी बिगतमा पटक पटक सरकारमा गएको, देशभर आफ्नै उम्मेदवार नभएकाले जनमत घटेको, संगठनहरु राम्ररी चल्न नसकेको जस्ता बिषयहरु समिक्षा गरेर आगामी दिनमा सुधारेर अघि बढ्ने गरी राप्रपाले अभियान चलाएको उनले बताए । ‘अब हरेक घरमा पुगेर हिन्दु राष्ट्र पुनस्र्थापना जागरण अभियान सञ्चालन गरी राप्रपाले जनतालाई सचेत पार्दै संगठन सुदृढिकरण गर्नेछ’, अध्यक्ष थापाले कार्यकर्ताहरुमाझ भनेका छन् । देशब्यापी रुपमा यो अभियान सञ्चालन हुने उनले जानकारी दिए ।

कार्यक्रममा राप्रपाका सहमहामन्त्री राजाराम बर्ताैला, नेता दीपकबहादुर सिंह लगायतको सहभागिता रहेको थियो । हेटौँडाको भैरवरोडस्थित पार्टी कार्यालयबाट पन्चैबाजासहित निस्केको हिन्दू राष्ट्र पुनस्र्थापना जागरण अभियान अन्तर्गतको र्यालीले हेटौँडाका विभिन्न चोक तथा बजारहरुको परिक्रमा गरी सभामा परिणत भएको थियो ।







Plant-1526723778.JPG
Fohor-Add-1532704684.jpg