Sunday, 17th February, 2019
वि.स.
Bihuli-002-1532968337.gif

थाहानगरको एउटै वडामा ५ सय टनेलमा गोलभेंडा

BB-golveda-1534352403.jpg

मकवानपुर जिल्लाको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकाको बज्रवाराही मात्रै करिब २ करोडको लगानीमा ५ सय प्लास्टिकका टनेलमा गोलभेंडा खेती गरिएको छ । हाल त्यस क्षेत्रबाट दैनिक ७ ट्रक गोलभेंडा काठमाडौं, हेटौंडा र चितवन जाने गरेको छ । यो खेतीमा अधिकांश युवाहरू छन् । उनीहरूले टनेलभित्र अर्गानिक गोलभेंडा उत्पादन गरी बिक्रीका लागि बजार पठाउने गरेका छन् । ‘बिस्तारै गोलभेंडा पाक्दै छ,’ थाहा नपा ६ पाल्चोकका कृषक सचिन कमार्चायले भने, ‘गोलभेंडा अब पाक्नै थाल्यो ।’

यहाँ उत्पादित गोलभेंडा काठमाडौं, हेटौंडा, भरतपुरलगायतका सहरमा निर्यात हुने गरेको छ । कर्माचार्यले निजी रूपमा १७ वटा प्लास्टिक टनेलमा गोलभेंडा खेती गरेका छन् । सामूहिक रूपमा पनि गोलभेंडा खेती गरेका छन् । उनको टनेलमा करिब ५ हजार गोलभेंडाका बोट छन् । एउटा गोलभेंडाको बोटमा ७ देखि १० किलो गोलभेंडा उत्पादन हुने उनले बताए । थोपा सिँचाइ र मल्चिङ विधिअनुसार वज्रवाराही कृषकहरूले गोलभेंडा खेती गरेका छन् । ‘सामूहिक र व्यक्तिगत रूपमा वज्रवाराहीका युवाहरूले ५ सयवटाभन्दा बढी प्लास्टिक टनेल बनाएर तरकारी खेती गरिरहेका छन्,’ कृषि विकास कार्यालय थाहा नपाका संयोजक सञ्जय तिवारीले भने, ‘टनेल बनाएर तरकारी खेती गर्ने जाँगरिला युवाहरू वज्रवाराहीमा छन् ।’ युवा कृषक कर्माचार्यले गोलभेंडा खेतीका लागि टनेल बनाउन करिब १३ लाख रुपैयाँ लगानी गरेका छन् । 

गोलभेंडाको भाउ राम्रो भयो भने ३० लाख रुपैयाँसम्म आम्दानी हुने उनको अनुमान छ । कर्माचार्यले निजी र सामूहिक रूपमा टनेल बनाएर गोलभेंडा खेती गरेका छन् । उनले विगत चार वर्षदेखि टनेल बनाएर गोलभेंडा खेती गर्न थालेका हुन् । गत वर्ष कर्माचार्यले गोलभेंडा खेतीबाट ७ लाख रुपैयाँ खुद आम्दानी गर्न सफल भएका थिए । अहिले उनले पनि २० टनेल निजी र साझेदारीमा १० गरी ३० वटा प्लास्टिकको टनेलमा गोलभेंडा उत्पादन गरिरहेका छन् । कर्माचार्य आफैंले गोलभेंडा र भेंडे खुर्सानीका बेर्ना उत्पादन गरेका थिए । पैसा कमाउन मलेसिया गएर एक वर्ष बसेर फर्केका कर्माचार्य टनेलमा गोलभेंडा उत्पादन गर्ने अगुवा कृषकका रूपमा पहिचान बनाउन सफल भएका छन् । 

५ वर्ष टिक्ने बाँसको टनेलमा उत्पादित गोलभेंडा अर्गानिक हुने भएकाले व्यापारी र उपभोक्ताले खोजीखोजी खरिद गरेर लैजाने गरेका छन् । वज्रवाराहीका युवा सविन श्रेष्ठसँग उनले साझेदारीमा टनेल बनाएर गोलभेंडा खेती गरेका छन् । ‘काठमाडौंको नर्सरीबाट सरिता र सम्झना जातका गोलभेंडाका बेर्ना ल्याएर खेती गरेको हुँ,’ श्रेष्ठले भने, ‘पोहोर पनि गोलभेंडाको बेर्ना काठमाडौबाट ल्याएको राम्रै उत्पादन भयो ।’ रासायनिक मल र विषादीरहित अर्गानिक गोलभेंडा उत्पादन भएको छ । गोलभेंडा खेतीका लागि उनले २ जना कामदारलाई पनि मासिक तलब दिने गरी राखेका छन् । ३५ वर्षीय श्रेष्ठले केही वर्ष काठमाडौं बसेर विभिन्न किसिमका व्यापार गरे । राम्रोसँग सफल हुन नसकेपछि गाउँमा फर्केर पोहोरदेखि तरकारी खेती गर्न थालेका हुन् ।

श्रेष्ठ र कर्माचार्यले उत्पादन गरेको गोलभेंडा काठमाडौं मात्र होइन, हेटौंडा र वीरगन्ज पनि पुग्ने गरेको छ । विशेषगरी थाहा नपा अर्थात् साविकको वज्रवाराही गाविसका युवाहरू प्लास्टिकको टनेल बनाएर गोलभेंडा र भेंडे खुर्सानी खेतीतर्फ आकर्षित छन् । ‘मुख्य गरी वज्रवाराहीका युवाहरू प्लास्टिकको टनेल तरकारी खेतीतर्फ आकर्षित भएका छन्,’ कृषि विकास कार्यालय थाहा नपाका संयोजक तिवारीले भने, ‘वज्रवाराहीमामा ५ सयभन्दा बढी प्लास्टिकको टनेल बनेका छन् ।’ वज्रवाराही प्लास्टिकको टनेलले सेताम्मे देखिन्छ । कृषि विकास कार्यालयले प्लास्टिकका लागि मात्र १४ लाख २८ हजार रुपैयाँ तरकारी उत्पादक कृषकहरूलाई अनुदान उपलब्ध गराएको छ । थाहा नपा मातहतमा रहेका कृषि कार्यालयका प्राविधिकहरूले कृषकहरूलाई प्राविधक सहयोग उपलब्ध गराउँदै आएका छन् । यसैबीच भारतले नेपालमा उत्पादित गोलभेंडा निकासी खुला गरेपछि मकवानपुरका कृषक खुसी छन् ।

साउन २० देखि निकासी खुला भएको हो । भारत निर्यात नहुँदा कृषकले प्रतिकिलो १५ रुपैयाँमा गोलभेंडा बिक्री गरेका थिए । अहिले गाउँमै कृषकले ३५ रुपैयाँ प्रतिकिलोमा बिक्री गरिरहेका छन् । थाहा नपा ६ वज्रवाराहीका कृषक सविन श्रेष्ठले भने, ‘गोलभेंडा भारत जान पाएपछि भाउ राम्रै छ ।’







Plant-1526723778.JPG