Saturday, 19th January, 2019
वि.स.
Bihuli-002-1532968337.gif

थाहा महोत्सवमा उँटले सात थरीको कला देखाउने

मरुभूमिको तातो हावामा रमाउने उँट मकवानपुरको २ हजार मिटरको उचाइमा देखिन पाइने भएको छ, त्यो पनि कात्तिकको चिसो मौसममा । थाहानगर उद्योग वाणिज्य संघले आगामी ८ कात्तिकदेखि ९ दिनका लागि आयोजना गर्न लागेको तेस्रो थाहा महोत्सव–२०७५ को अवसरमा उँट देख्न पाइने भएको हो । महोत्सवमा दर्शकहरुले उँट हेर्ने मात्र होइन, उँट चढ्ने र उँटका विविध कलासमेत हेरेर मनोरन्जन लिनेछन् ।
महाभारत पर्वत श्रृङ्खलाअन्तर्गत पर्ने थाहानगरमा पहिलोपटक उँट ल्याउन लागिएको हो । भारतको राजस्थान मरुभूमिबाट नेपाल भित्र्याइएको उँट तेस्रो थाहा महोत्सवभरि थाहानगरमा रहनेछ । ५ सय किलोग्राम तौल रहेको उक्त ४ वर्षीय उँट १५ फिट अग्लो र १० फिट लम्बाईको छ ।
जीवन पँगेनी र शिब गौतमको समूहले ल्याउन लागेको उक्त ‘सोनु’ नाम गरेको उँटले सात थरीको कला देखाउने बताइएको छ । पँगेनीका अनुसार मानिसले हात तेस्र्याउँदा उक्त उँटले अगाडिको खुट्टा दिएर हात मिलाउँछ । त्यस्तै मानिसहरुको गालामा म्वाईं खाने, पेटले जमिन नछोई बस्ने, मानिसहरुलाई सलाम गर्नेजस्ता कला पनि देखाउँछ । ‘कुकुरजसरी बस् भन्दा कुकुरजस्तै बस्छ, बाघजसरी बस् भन्दा बाघजस्तै गरी बस्छ,’ पँगेनीले भने ।
उक्त उँटले अतिथिलाई माला लगाइदिने, गिलासमा पानी पिलाउने, दर्शकहरुप्रति मित्रभाव प्रकट गर्ने, मुखमा आगो राखेर नृत्य गर्नेजस्ता क्रियाकलाप पनि गर्ने गरेको छ । ३ वर्षअघि नेपाल ल्याइएको उँटले हालसम्म गोरखा, सुर्खेत, रुकुम, बाग्लुङ, प्युठान लगायत ४० भन्दा बढी जिल्लामा आफ्नो कला देखाइसकेको छ ।
तेस्रो थाहा महोत्सवको क्रममा मुख्य आकर्षणको रुपमा रहेको उक्त उँटको खास चर्चा भने नृत्यमार्फत् हुनेछ ।   उँटले ‘माया जैले रिसाउनी, कैले होला मायासँग माया मिसाउनी’ र अन्य बोलका गीतहरुमा नृत्य गर्ने पँगेनीले बताए ।
उँटसँगै थाहा महोत्सवमा विश्वकै अग्लो र ठूलो मानिएको चरा अष्ट्रिच पनि देख्न पाइने भएको छ । केही वर्षदेखि नेपालमा व्यवसायिकरुपमा पाल्न शुरु गरिएको भए पनि मकवानपुरको थाहा क्षेत्रमा अष्ट्रिच नयाँ नै हो । करिब २ सय ५० किलोग्रामसम्म हुने अष्ट्रिच मानिसभन्दा अग्लो हुन्छ भने ८० वर्षसम्म बाँच्न सक्छ ।
रुपन्देहीको धवलियाबाट ल्याउन लागिएको उक्त अष्ट्रिच हेरेर र अष्ट्रिचमाथि चढेर मनोरन्जन लिन सकिने आयोजकले बताएको छ ।
अष्ट्रिचले सबैभन्दा ठूलो अण्डा पार्ने गर्छ । यो चरा ९७ किलोमिटर प्रतिघण्टाको गतिमा कुद्न सक्छ ।

 

http://bikaskhabar.com/public/images/users/Logo-b-1542560351.jpg

विकासखबर संवाददाता

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)







Plant-1526723778.JPG