Monday, 22nd April, 2019
वि.स.
Bihuli-002-1532968337.gif

फेरि ठूलो भूकम्प जाला ?

वि.सं. २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र विन्दु भएर गएको ७.६ म्याग्निच्युडको भूकम्पले करिब नौ हजार मानिसको मृत्यृ भयो। सात लाखभन्दा बढी घर भत्किए, सात हजारभन्दा बढी विद्यालय, त्यति नै संख्यामा स्वास्थ्य चौकी एवं अन्य भौतिक संरचना क्षति भए।

भूकम्पलगत्तै सिंगो देश, दातृ निकाय एवं मित्र राष्ट्रहरू उद्धार र राहतमा जुटिरहेकै बेला विभिन्न अध्ययन, अनुसन्धान एवं विज्ञको हवला दिँदै अझ ठूलो भूकम्प आउनसक्ने खबरले सामाजिक सञ्जाल भरिए। जसले भर्खरै महाविपद् झेलिरहेका नागरिकमा झन् ठूलो त्रास पैदा ग¥यो। यो क्षेत्रमा काम गर्ने कतिपय मानिसमा पनि दुविधा देखियो। कसैले अब हाम्रो पुस्ताले यति ठूलो भूकम्प बेहोर्नु पर्दैन, लेखेरै दिन्छुसम्म भने त कसैले अर्को ठूलो भूकम्पको सम्भावना जहिले रहिरहन्छ भन्ने दाबी गरे। यसरी आफूलाई विज्ञ ठान्नेहरूबीच नै एकमत नहुँदा आम जनतामा चिन्ता अझ बढ्यो।

अहिले देशले पुनर्निर्माणमा केही राम्रो प्रगति गरेको तथ्यांकहरू आइरहँदा यो क्षेत्रमा कलम चलाउनेहरूले अझै विभिन्न अध्ययन अनुसन्धानहरूका आधारमा भन्दै नेपालमा २०७२ को भन्दा ठूलो भूकम्प जानसक्ने भन्दै समाचार बनाइरहेका छन्। सँगसँगै परकम्पको शृंखला जारी रहँदा नेपाली नागरिक त्रास बोकेरै बस्न विवश छन्। गएको माघ २ गते नेपालमा २१औ भूकम्प सुरक्षा दिवस मनाइरहँदा माया वेइ हैस जो नेसनल जिओग्राफिकका लागि विज्ञानसम्बन्धी लेखक हुन्, ले गत माघ ३ गते नेसनल जिओग्राफी पत्रिकाको विज्ञान र अन्वेषण खण्डमा नेपालमा कुनै पनि बेला २०७२ सालको भन्दा ठूलो भूकम्प जानसक्ने आशयसहितको लेख लेखेकी छन्। यो पत्रिका विज्ञान र शिक्षासँग सम्बन्धित विश्वकै एक ठूलो गैरनाफामूलक संस्था नेसनल जिओेग्राफिक सोसाइटीको आधिकारिक पत्रिका हो। यसले अमेरिकाबाट १ सय ३० वर्षदेखि हरेक महिना प्रकृति, भूगोल, विज्ञान र संस्कृतिसम्बन्धी लेख प्रकाशित गर्ने गर्छ। त्यस लेखमा लखिकाले मझौला भूकम्पले हिमालय क्षेत्रमा भारतीय र तिब्बतीय भू–खण्डको घर्षणबाट उत्पन्न भएको सञ्चित चाप पर्याप्त रूपमा पृथ्वीबाहिर निकाल्न नसकेको र चट्टानका दरारहरूलाई अझ कमजोर पारेकाले वास्तवमा झनै जोखिमपूर्ण अवस्थामा पु-याएको निश्कर्ष विभिन्न अध्ययन अनुसन्धानको आधारसहित प्रस्तुत गरेकी छन्।

जुन लेखमा मायाले प्रतिष्ठित वैज्ञानिक अखबार नेचर कम्युनिकेसनले जनवरी ३ मा प्रकाशित गरेको अनुसन्धानात्मक जर्नल लेखको तथ्यलाइ पनि उल्लेख गरेकी छन्। जसमा २०७२ वैशाख १२ गते नेपालमा गएको भूकम्पले उक्त क्षेत्रमा भूकम्पीय तनाव घटाउनुको सट्टा अझ ठूलो भूकम्प जानसक्ने अवस्था सिर्जना गरेको दाबी गरिएको छ। उक्त लेखमा कसरी मझौला भूकम्पले अझ ठूला भूकम्प निम्त्याउन सक्छ भन्ने कुरालाई अहिलेको आधुनिक अन्वेषणको तरिका ‘न्युमेरिकल सिम्युलेसन’द्वारा तथ्यसहित देखाइएको उल्लेख गरिएको छ। यसले वैज्ञानिकहरूलाई कसरी पृथ्वीभित्र चट्टानको चाक्लामा रहेका दरार वरिपरि शक्ति सञ्चित हुनेरहेछ भन्ने तथ्य बुझ्न सहयोग पु¥याउँछ। उक्त अध्ययनले भारतीय उप–महाद्वीपको उत्तरमा फैलिएको ‘इन्डो–गंगाटिक प्लेन’मा बसोबास गर्ने करिब चार सय मिलियन मानिसलाई सम्भावित भूकम्पहरूले कस्तो असर गर्ला भन्ने विषयलाई भने नसमेटेको यस अध्ययनका प्रमुख लेखक भू–जीव वैज्ञानिक लुका डल जिलियोले बताएको मायाले आफ्नो लेखमा उल्लेख गरेकी छन्। वास्तविकिता चाहिँ के हो भने अहिलेको अवस्थामा सम्भावित महाभूकम्प कहिले, कहाँ, कति समयमा एक वर्ष, एक दशक, एक शताब्दी वा तत्काल जान्छ ? यसो भन्न असम्भव छ। तर जोखिम पहिचान गरी त्यसको न्यूनीकरणमा लाग्नु यस विशाल भौगोलिक क्षेत्रमा बसोबास गर्ने मानव सुरक्षाका हिसाबले अत्यावश्यक छ।

यसैगरी कोलोराडो विश्वविद्यालयका भू–वैज्ञानिक प्राध्यापक रोजर बिलहमले हालै अनुसन्धानात्मक लेख प्रकाशन गराएका छन्। जुन भौगर्भिक समाज लन्डनको विशेष प्रकाशनमा समावेश छ। उक्त लेखको शीर्षक हिमालय क्षेत्रमा ऐतिहासिक भूकम्पहरूको समीक्षा र २१औं शताब्दीको प्रारम्भमा सम्भावित भूकम्प भन्ने छ। यस अनुसन्धात्मक लेखमा हिमालय क्षेत्रमा पछिल्लो हजार वर्षमा नभाँचिएका भूखण्ड, अहिलेको विज्ञानले भौगोलिक, ऐतिहासिक र भू–वैज्ञानिक क्षेत्रमा गरेका प्रगतिका आधारमा पहिचान गरिएको उल्लेख छ। यो अनुसन्धानमा हिमालय क्षेत्रभित्र करिब १५ भूखण्डमा जानसक्ने भूकम्पको मापन मूल्यांकन गरिएको छ। पहिचान गरिएका १५ मध्ये १० भूखण्डमा म्याग्निच्युड ८ भन्दा माथिका भूकम्प जानसक्ने अवस्था रहेकोे निचोड निकालिएको छ। जसमा हिमालय क्षेत्रको मध्यभाग अर्थात् नेपालको पश्चिमी क्षेत्रमा बढी सम्भावना रहेको तत्थहरूले देखाएका छन्। काठमाडांै र पोखराको बीचमा सन् १५०५ पछि सन् २०१५ मा भूकम्प गएकाले काठमाडौं क्षेत्रमा तत्काल ठूलो भूकम्प जानसक्ने सम्भावना कम रहेको तर, उक्त क्षेत्रको दक्षिणी भागमा केही बढी सम्भावना रहेको उल्लेख गरिएको छ। नेपालको पूर्वी क्षेत्रमा भने ८ म्याग्निच्युडभन्दा सानो मात्र भूकम्प जानसक्ने सम्भावना उक्त लेखमा उल्लेख गरिएको छ। यसरी हेर्दा तुलनात्मक रूपमा नेपालको पश्चिम क्षेत्रमा भूकम्पको बढी जोखिम देखिन्छ।

विश्वमा भूकम्पबाट जुन संख्यामा मानिसको मृत्यु भएको छ त्यसले के देखाउँछ भने भूकम्पीय जोखिम विश्वव्यापी रूपमा उच्च छ। यसैले मिहिन तरिकाले भूकम्पीय जोखिम कम गर्ने उपायहरू पहिचान गर्नु अति आवश्यक छ। सोही आवश्यकतालाई मध्यनजर गर्दै बेलायतको डुरहाम विश्वविद्यालय र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट)को सहकार्यमा नेपालभित्र ९० भूकम्पीय परिदृश्य विकास गरेर कहाँ, कस्तो असर पर्नसक्छ ? विश्लेषणसहित प्रतिवेदन तयार पारी प्रकाशन गरिएको छ। यस विधिले हामीलाई कुनै क्षेत्र विशेषमा कस्तो भूकम्पको असर के हुनसक्छ अथवा क्षेत्र विशेषलाई कुनै भूकम्पले खासै फरक पार्दैन भन्ने अनुमान गर्न मद्दत गर्छ। खासगरी आपतकालीन योजनाकारलाई राम्रो र प्रभावकारी योजना तयार पार्न यो विधिले महत्वपूर्ण जानकारीहरू उपलब्ध गराउँछ। विशेष गरी सम्भावित भूकम्पले कहाँ, कस्तो असर पार्नसक्छ भन्ने सही अनुमान गर्न यसले सहयोग गर्छ। जसबाट उक्त क्षेत्रमा यस्ता खालका प्रभाव तथा भूकम्पीय जोखिम कम गर्न आवश्यक योजना लागू गर्न सरोकारवाला सबैकोे ध्यान केन्द्रित गर्छ।

यी सबै अध्ययनको निचोड छ– हिमालय क्षेत्रमा ठूलो विनाशकारी भूकम्प जान्छ कि जाँदैन भन्ने प्रश्न नै असान्दर्भिक छ। किनकि हिमालय क्षेत्रको उत्पत्ति नै भूकम्प जाने प्रक्रियाबाट भएको होे। मुख्य प्रश्न के हो भने ठूलो भूकम्प कहिले जान्छ भन्ने नै हो। अहिलेसम्म विज्ञानले ठ्याक्कै तिथिमिति तोकेर भूकम्पको अनुमान गर्नसक्ने प्रविधि विकास गर्न सकेको छैन। यस्तो अवस्थामा सम्भावित भूकम्पको प्रभाव सही अनुमान गरी जोखिम न्यूनीकरणसम्बन्धी योजनासहित पूर्वतयारी सुदृढ पार्नु नै उत्तम विकल्प हो।

 (भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालमा कार्यरत डा. मरासिनीले जमिन तरलीकरणको जोखिम पहिचान तथा न्यूनीकरणमा विद्यावारिधि गरेका छन्।)

साभार: नागरिकन्युज डटकम 







Plant-1526723778.JPG
Fohor-Add-1532704684.jpg