Tuesday, 26th March, 2019
वि.स.
Bihuli-002-1532968337.gif

मैले खनेको ट्रयाकबाट महिलाहरु त्यो डाँडोको भञ्ज्याङमा उग्लिने वातावरण बनाउन सक्छुः– जानुका ढकाल

IMG_20180308_150340-1525163586.jpg

जानुका ढकाल थाहा नगरपालिकाको एक सकृय महिला हुन । उनी थाहा नगरपालिका वडा नं २ का महिला सदस्य, थाहा नगरपालिकाको नगर कार्यपालिका सदस्य तथा अनुगमण समितिका सदस्य समेत हुन । सकृय महिला जानुका ढकाल संग बिकासखबर संवाददाता मञ्जरी बलामीले संवाद गरेकी छिन । प्रस्तुत छ उनी संग गरिएको संवादः–
१) निर्वाचित भएर सक्षम महिलाको रुपमा प्रतिनिधित्व गरिरहँदा कस्तो अनुभव भैरहेको छ ?
मलाई एकदम खुशी लागेको छ ।  अहिले सम्म चुलोचौकामा बसेको मान्छे, म राजनीतिमा लागेको मान्छे पनि होइन, म भन्दा सोझा, बोल्न पनि डराउने खालका दिदी बहिनीहरु पनि नेतृत्व गर्छु भनेर जितेर आउका छन । त्यसमा पनि नगर भित्र समितिमा पनि छु तर परिषदमा चिनजान गरेर १ बर्ष त बित्यो नि, अब ४ बर्ष बाकी छ, केही गर्नु पर्छ भनेकी छु, उहाँहरुलाई सिकाउँदै पनि जानुपर्ने छ । दिदी बहिनीहरुमा सबै हामी हाम्रो हो, कोही पढाइ छैन भन्दै भन्ने गर्छु, यसमा मलाइ एकदम गर्ब लाग्छ ।
२) महिला भएर पनि महिला प्रतिनिधिको रुपमा नेतृत्व गरीरहँदा कस्तो समस्याहरु पाउनु भएको छ ?
गाह्रो त धेरै गाह्रो छ, तालिम कार्यक्रमहरु ल्याउदा पनि महिलाहरुलाई बाहिर ल्याउन सकिदैन । अहिलेको समयमा किशोरीहरुलाई समेत तालिमको लागि बाहिर ल्याउन सकिएको छैन भने बिवाहित महिलाहरुलाई बाहिर ल्याउन झन धेरै समस्या छ । नगरमा आएर काम गर्दा पनि प्रबिधिक कुराहरु बुझ्न सकिदैन, तर पनि बुझ्ने, सिक्ने प्रयास गरिरहेको छु ।
३) तपाई आफु महिला भएर यो अवस्था सम्म कसरी आउन सक्नु भयो ?
सानै देखि नै सहि लाई सहि र गलत लाई गलत नै भन्ने बानी थियो मेरो, जस्ले गर्दा समाजको बिषयहरुमा मेलमिलाप गर्थे । कुरा काट्ने र सुन्ने दुबैलाई एकै ठाउमा राखेर कुरा टुङ्ग्याउने, लगायतका काममा सरिक हुन्थ्ये, कसैले भनेको कुरालाई राम्रो कुरा राख्ने नराम्रो कुरा हटाउने लगायतका काम गथ्र्ये । जसले गर्दा मलाई दिदी बहिनीहरुले यहाँ सम्म आउन साथ दिए बिश्वास गरे ।
४) तपाई नगरको सेवामा लागि रहँदा तपाईले आफ्नो घरबाट कसरी समय निकाल्नु हुन्छ ? श्रीमानले घरायसी काममा सघाउनु हुन्छ ?
म त कपडाहरु बेलुका भिजाउछु बिहान उज्यालो हुँदा खेरी धोइसक्छु, अनुगमणको समयमा बिहानै हिडनु पर्ने हुन्छ भने राती पनि हुन्छ फर्कदाँ, नभ्याउदा चाडै उठ्ने, मेलापत भए पनि समय मिलाएर गर्ने गरेर नगरको काम पनि भ्याउँछु । राती ४ बजे उठेर बारीको काम गरेर ९ बजे घरमा आएर खाना बनाउने, खाने अनि नगरपालिका आउछु । घरको काममा श्रीमान बृद्ध पनि भै सक्नु भयो, के सघाउन सक्नु हुन्छ र ।
५) चुनावको बेला जनताहरुमा केही आशा देखाउनु भएको थियो कि?
यस्तो गर्छु भनेर ठुलो आशा त केही देखाएको छैन किन भने म सानो सदस्यमा उठेर सबै गर्न सक्छु भन्न पनि मिल्दैन, मैले सुनुवाइ गराउने मात्र हो । आफैले दिने मेरो हातमा पनि छैन, तर महिला दिदी बहिनी, दलित, बालबालिका, अपाङ्ग र लक्षित बर्गको लागि मैले बोल्ने कुरामा अगाडी नै बढ्छु भनेको छु ।
६) लक्षित बजेटबाट के के योजनाहरु सञ्चालन भयो ?
१२ वटै वडा समेटिएर बुनाइ तालिम, सिलाई कटाई तालिम, अपाङ्गता परिचय पत्र बितरण कार्यक्रम लगायतका कामहरु सञ्चालन भैरहेको छ ।
७) हाल सम्म नगरपालिकाले सञ्चालन गरेको तालिम कार्यक्रमहरु कत्तिको प्रभावकारी भएको छ भन्ने लाग्छ ?
खासै प्रभावकारी छैन, जति पनि सिके बालुवामा पानी जस्तै भएको छ । तर अब सिप सिकेपछि अरुलाई पनि सिकाउन सक्ने क्षमता होस, आम्दानी पनि होस भन्ने तर्फ लागेको छु । सिप सिकेर उत्पादन भए पछि नगरपालिकाले नै बजार ब्यवस्थापन गर्ने वातावरण सिर्जना गर्नु पर्छ । मेलापात, घाँस दाउरा र भारी बोकेर नै महिलाहरुको दिन बितेको छ, अब भने यस्तो नहोस र बजेट पनि खेर नजाओस भन्ने चाहान्छु ।
८) लक्षित बजेट लक्षित बर्ग सम्म नै पुर्याउन तपाइको भुमिका के हुन सक्छ ?
 हामीबाट सक्दो प्रयास गर्छौ, बजेट पनि कम छ, १२ वटै वडामा सबै कुराको जानकारी गराउने र सिपमुलक कार्यक्रमहरु लाने कुरामा म समन्वयकारी भुमिका खेलेर अघि बढ्छु ।
९) २०७५÷०७६ मा महिलाहरुको लागि कस्तो योजनालाई अघि बढाउने योजना बनाउनु भएको छ ?
सकेसम्म सिपमुलक कार्यक्रम नै अत्यावश्यक छ । अन्य तालिमहरु भन्दा पनि बुनाईको सिप पछि सम्मलाई उपलब्धिमुलक हुने भएकोले बुनाईको तलिमहरु वडा वडाहरुमा नै पुर्याउन पाए हुन्थ्यो भन्ने सोचेकी छु । यो काम घर मै बसेर जहाँ जहिले पनि गर्न सकिने भएकोले बुनाई नै आवश्यक छ भन्ने लाग्छ ।
१०) महिलाहरुको लागि योजना भन्ने बित्तिकै तालिम कार्यक्रम मात्र भनिन्छ, नगरमा महिला हिंसा, बहु बिवाह लगायत समस्याले गम्भिर रुपमा जरा गाडिरहेको छ, यो बिषयमा भने कार्यक्रम गर्न सकिदैन ?
यो बिषय अलि बढी गम्भिर छ । अनेक कार्यक्रमहरु भए पनि महिला दिदीबहिनीहरु चुलो चौकोबाट बाहिर आउनै सकेको छैन, बाहिर आएकाहरुले पनि यातना सहनु पर्ने अवस्था छ भने कतिपय दिदी बहिनीहरु बहिर निस्कनै चाहादैन । बाहिर आउन चाहने महिलाहरुलाई पनि पुरुषले साथ सहयोग नगरेको अवस्था छ । बिचार गर्दा नगरले नै बिशेष कानुन बनाएर दिदी बहिनीहरुलाई खुलेर बाहिर आउन सक्ने वाताबरण बनाउनु पर्छ । कोही श्रीमान पनि पीडित छन भने धेरै महिलाहरु पीडित छन, यो बिषयलाई म मेरो तर्फबाट जसरी पनि रातदिन नभनी लागि पर्छु भन्ने अठोट छ । तर एकले थुक्दा सर्लक्क सुक्दो रहेछ भन्ने अनुभव गरेकी छु, त्यसैले हामी नगरमा भएका महिला सदस्यहरु नै एकजुट भएर त्यही मार्फत नै महिला हक हित, सुरक्षा र हिंसाको बिषयलाई न्युनिकरण गर्नु पर्छ । अहिले घरायसी हिंसा कै कारण नगरका कतिपय कलेज पढ्ने बिद्यार्थीहरु कुलतमा फसेको होकी? भन्ने पनि छ । त्यसैले कसरी कहाँबाट सुरु गर्ने भन्ने अन्यौल पनि छ । त्यसैले यो बिषयले सुक्ष्म रुपमा परिक्षण गर्नु पर्छ ।
११) तपाई नगर कै महिलाहरुको प्रतिनिधिको रुपमा हुनु हुन्छ, ५ बर्षमा आफ्नो प्रतिनिधित्व हुनुको अर्थ र औचित्य कसरी राख्नु हुन्छ ?
महिला दिदी बहिनीहरुले उनीहरुको हितको लागि राम्रो काम गर्लान भनेर हामीलाई जिताएर प्रतिनिधिको रुपमा पाठाएका छन । केही गर्छन अब भनेर चुनाबमा भोट दिएर पनि केही गर्न सकिएन भने भोली निरासा हुँदा ५ बर्ष पछि चुनाव हुनुको अर्थ रहँदैन । तर अब गर्नु पर्छ, नगरबाट एउटा निष्कर्ष निकाल्नै पर्छ र अब आउने परिषदमा कुरा उठाउने छौ । नारी दिवस नगरपालिकामा मनाउने, हिंसा अन्यको लागि पहल गर्ने छौँ । ५ बर्ष सम्म महिलाहरुको लागि केही गरेर देखाउनै पर्छ । 
१२) नगरपालिकामा रहेर काम गरिरहँदा यहाँ भएको जनप्रतिनिधिहरुको महिलाहरुको अवस्था कस्तो छ भन्ने लाग्छ?
जति पनि जनप्रतिनिधि पुरुषहरुको महिलाहरु हिंसामा नै होला भन्छु । किन भने पुरुषहरुले घरमा समय दिन भ्याउदैन, सबै काम महिलाहरुले नै गर्नु पर्ने हुन्छ, जसले गर्दा जनप्रतिनिधि पुरुषहरुके महिला हिंसामा नै छ । कार्यक्रमहरुमा महिला अगाडी आउनुस भन्ने पुरुषहरुले पनि आफ्नो घरमा श्रीमतीलाई बाहिर नआइज है, घरमा गाई भैँसी भोक्कै हुन्छ, खाना ढिला हुन्छ, भन्ने लगायतका कुरा गरि महिलाहरुलाई पछि पारिराखेको भन्ने चाई भोगे र देखे अनुसार पक्का हो । पुरुष अघि आउनुमा महिलाको ठुलो हात हुन्छ । कार्यक्रममा अरुको श्रीमतीलाई उफार्ने तर आफ्नो घरमा भने आफ्नो श्रीमतीलाई बाहिरै निस्कन नदिने प्रबृति भने जनप्रतिनिधिहरुमा रहेको छ ।

१३) ५ बर्षमा गरिने काम मध्ये कुन चाही काम गर्छु नै भन्ने अठोट गर्नु भएको छ ?
पुरुषहरुले दिदीबहिनीहरुलाई जाडरक्सी खाएर कुटपिट गर्ने जुन प्रबृत्ति छ, महिलाहरु हिंसामा परेका छन, यो बिषयलाई अन्त्य गर्न सके पनि महिलाहरुको मनमा शान्ति हुन्थ्यो, महिलाहरुले सुखको सास फेर्न पाउथ्ये भन्ने लागेको छ । हाल नगर नै भद्रगोल भैरहेको छ, महिलाहरुले रातभरी रक्सी पारेर बजारमा नबेचे आम्दानिको स्रोत छैन, बालबच्चा पनि पाल्न नसक्ने, अनि रक्सी खाने दाजुभाईले त्यही दिदी बहिनीहरुलाई कुट्ने, यातना दिने गर्नाले धेरै चिन्ता लागेको छ । एउटाको जिवन बचाउने प्रयासमा अर्कोको जिवन खतरामा पर्ने कुरालाई समाधान गर्न सकिदैन कि जस्तो लागेको छ । नगरमा कुनै बजेट आएमा कुनै उद्योग खोल्न पाए राम्रो हुन्थ्यो भन्ने सोचेको छु । यदि मैले गर्न सकिन भने पनि ५ बर्ष पछि आउने महिला दिदी बहिनीहरुले मैले खनेको ट्रयाकबाट त्यो डाँडोमा भञ्ज्याङमा उग्लिने वातावरण बनाउन सक्छु भन्ने अठोट गरेकी छु ।
अन्तमा संवादको लागि तपाईलाई धेरै धेरै धन्यवाद, तपाईको योजनाहरु सफल होउन् शुभकामना छ । धन्यवाद 
 

http://bikaskhabar.com/public/images/users/44-1521117090.jpg

मञ्जरी बलामी

[email protected]

बलामी, विकासखबर डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेकी छिन् ।







Plant-1526723778.JPG