Wednesday, 20th March, 2019
वि.स.
Bihuli-002-1532968337.gif

सक्कली भूकम्पपीडितको नाम छुट्यो : नक्कलीको बोलवाला

DSC_0022-copy-1483585581.jpg

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको उत्तरी गाविस थाङपालधाप–४ स्थित नाल्दुम टोल सुनसान छ । भूकम्पमा भत्केका घरका गाह्रा त्यत्तिकै असरल्ल छन् । काठपात यताउता छरिएका छन् । अझै सँगालिएको छैन ।

सो गाउँमा २४ जनाले ज्यान गुमाएका थिए भने एक सय १३ घरपरिवार विस्थापित बनेका थिए । सो गाउँका अधिकांश पीडितले सरकारले दिने अनुदानको ५० हजार रुपैयाँ पाउन सकेका छैनन् । प्रमाण जुटाउन नसकेकै कारण ७० प्रतिशत भूकम्पपीडित अनुदान रकम पाउनबाट वञ्चित छन् । यो खबर आजको नयाँ पत्रिकामा छ ।

३० प्रतिशतले भने सरकारले अनुदानस्वरूप दिएको ५० हजार रुपैयाँ लिइसके । नाल्दुमका दोर्जे वाइबाले अहिलेसम्म गाउँका एक सय १३ घरपरिवारमध्ये ३४ घरपरिवारले ५० हजार लिएको र ७९ घरपरिवारले पाउन नसकेको जानकारी दिए । ‘भूकम्पले नाल्दुम टोलमा २४ जनाको ज्यान गयो । एक सय १३ घरपरिवार विस्थापित बने ।

तर, अनुदान रकम पाउने प्रमाण ३४ जनाले मात्रै जुटाउन सके, अरूले सकेनन्,’ उनले भने । वाइबाका अनुसार लगत संकलन गर्ने प्राविधिकको लापरबाहीका कारण अधिकांश पीडित ५० हजार रुपैयाँ पाउनबाट वञ्चित भएका हुन् । ‘लगत संकलन गर्ने प्राविधिकले पक्षपात गरेकाले वास्तविक पीडित छुटे ।
जसले गर्दा गाउँका ७० प्रतिशतभन्दा बढी अनुदानको ५० हजार रुपैयाँ पाउनबाट वञ्चित भए,’ उनले भने । वाइबाको घर पनि भूकम्पले भत्काएको छ । ‘प्राविधिकले घरको नाप लिए । तर, जग्गाको लालपुर्जा भएन । सोही कारण अनुदान सूचीमा नाम निस्केन,’ उनले गुनासो गरे ।

थाङपालधाप–३ का भूकम्पपीडितको अवस्था पनि उस्तै छ । यहाँका ६४ प्रतिशत भूकम्पपीडितको नामावली अनुदान पाउने पीडितको सूचीमा परेन । जसकारण उनीहरूले अनुदानको ५० हजार रुपैयाँ पाउन सकेका छैनन् । प्राविधिकले लगत संकलन गर्ने क्रममा वास्तविक पीडितको नाम छुटाएकाले उनीहरू अनुदान रकम पाउनबाट वञ्चित भएका हुन् ।

थाङपालधाप–३ सिमपानी टोलका हर्कबहादुर खत्रीका अनुसार ३६ प्रतिशत भूकम्पपीडितको मात्रै नाम अनुदान पाउने सूचीमा निस्कियो, ६४ प्रतिशतको नामावली निस्किएन ।
उनका अनुसार एक सय आठ घरपरिवारमध्ये ३९ जनाले मात्र ५० हजार पाएका छन् । ‘हाम्रो वडामा एक सय आठ घरपरिवार भूकम्पबाट विस्थापित बनेका छन् । १५ जनाले ज्यान गुमाए । तर, प्रमाण नपुगेको भन्दै प्राविधिकले ६४ प्रतिशत भूकम्पपीडितको नाम सूचीमा राखेनन् । त्यसैले कसैले पनि ५० हजार रुपैयाँ पाउन सकेनन् । पैसा नभएकाले कसैको पनि घर बन्न सकेको छैन । जाडोमा कठांग्रिएर बस्नुपरेको छ,’ उनले भने ।

खत्रीका अनुसार थाङपालधापका १, २ र ५ नम्बर वडामा पनि प्राविधिकको लापरबाहीका कारण अधिकांश भूकम्पपीडितको नाम अनुदान पाउने सूचीमा परेको छैन । ‘हाम्रोमा मात्र होइन, १, २ र ५ वडामा पनि धेरैको नाम निस्केन । जसले गर्दा ५० हजार पाउन सकेका छैनन् । पैसा नभएकाले कसैले पनि घर बनाउन सकेका छैनन्,’ उनले भने ।
नाल्दुम टोलका ४० वर्षीय किर्पे वाइबा भत्केको घरको भग्नावशेष पन्छाउँदै गरेको अवस्थामा भेटिए । भूकम्पमा उनले श्रीमती र आमाले गुमाए । तर, उनको अनुदान सूचीमा नाम निस्केन । ‘अनुदान संकलन गर्दा घर नापी भए पनि लालपुर्जा भएन । त्यसले गर्दा अनुदान सूचीमा नाम निस्किन सकेन । अब मैले कहाँ गएर उजुरी गर्नू ? अब मेरो घर नबन्ने भयो,’ उनले भने ।







Plant-1526723778.JPG